मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

इजरायलबाट फर्किएका नेपाली भन्छन्– ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’



कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् ।

इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको काठमाडौँको टोखा–८ की श्रीता गुरुङले बताइन् । उनी १४ वर्षदेखि इजरायलमा बसोबास गर्दै आएकी थिइन् ।“अहिलेको जस्तो तहसनहस हुने घटना कहिल्यै भएको थिएन । सानो सानो भइरहेको हुन्थ्यो”, उनले भनिन्, “घटनापछि डर लाग्यो । सुरक्षित महसुस गर्न सकिएन । त्यसैले स्वदेश फर्किएँ । यहाँ आएपछि निकै खुसी लागेको छ ।”इजरायलबाट उद्धार गरिएका गुरुङसहित सात जना पश्चिम सीमा नाका गड्डाचौकीबाट स्वदेश फिर्ता भएका छन् । सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ मध्ये सात जना आज बिहान गड्डाचौकी नाका भएर महेन्द्रनगर पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार इजरायलबाट भारत हुँदै गड्डाचौकी पुगेका उनीहरुलाई गन्तव्यसम्म पु¥याउन यातायातको व्यवस्थापन गरिएको छ ।“१८ जनामध्ये कोही विमानमार्फत घर गएका छन् । कोहीले भारतमै परिवारका सदस्यसँग भेटेका छन्”, प्रहरी उपरीक्षक थापाले भने, “सात जना गाडीमार्फत महेन्द्रनगर पुगेका छन् । उनीहरुलाई घरसम्म पु¥याउने तयारी गर्दैछौँ ।” भारत सरकारले आफ्ना नागरिकसँगै १८ नेपालीलाई पनि विमानमार्फत दिल्ली ल्याइदिएको उनले बताए ।काठमाडौँका नागरिकलाई विमानमार्फत पठाउने तयारी भइरहेको थापाले जानकारी दिए । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।इजरायल र प्यालेस्टाइनको युद्धपछि फसेका दुई सय ५४ नेपालीलाई पहिलो चरणमा सरकारले नेपाल वायुसेवा निगमको जहाजमार्फत ल्याइसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : १५ बजे