आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : डा भट्टराई



चितवन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । पारिवारिक भेटघाटका क्रममा आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए ।

“देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भने “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ ।” यसले लोकतन्त्रको हित नहुने उनको भनाइ थियो ।हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भने, “दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्‍यो, कि त निर्वाचन प्रणाली बदल्नु पर्‍यो ।” अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उहाँले बताए । उनले भने, “गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।”अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : १७ बजे