मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

लेक लागेर तीर्थयात्रीको मृत्यु



बाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर ९अक्सिजन अभाव० मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए ।

अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले राससलाई जानकारी दिए । यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ ।

मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए ।

यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ । सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : १३ बजे