काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्तको योगदान अतुलनीय रहेको बताएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उनले यो अवसरले मुलुकभित्रका जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिको संरक्षण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । भानुभक्तको कविता प्रसारसँगै मुलुकको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको उनको भनाइ छ ।
‘भानुजयन्ती मनाइरहँदा हामीले उनको जन्मस्थल चुँदीरम्घालाई पनि सम्झनु जरुरी छ । उक्त स्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न सकेमा नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्दछ,’ उनले भनेका छन् ।