माघ १६, २०८१ बुधबार Wed Jan 29 2025

बाढीपिडितको समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बाढीपीडित जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज बिहान नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्का लगायतले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै बाढीपहिरो पीडितको मस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सांसद खड्काले आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गरेका थिए । सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ।

बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए । बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत १९ मजदुर बेपत्ता भएका थिए । तीमध्ये दुई जनाको शव फेला परेको छ । तीनजना घाइतेको उद्धार गरिएको थियो ।

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीले चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने पक्की पुल बगाएको थियो भने चैनपुर नगरपालिकाको निर्माणाधीन पुल बगाएको थियो । सांसद खड्काले पुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ३५ बजे