हेटौंडा । प्रतिपक्षी दलको लगातारको अवरोधका कारण अवरुद्ध रहेको वाग्मती प्रदेशसभा बैठक आज बस्दैछ ।
असार १ गते आर्थिक वर्ष २०८०÷०८१ को बजेट सदनमा पेस गरेको १९औं दिनबाट प्रदेशसभामा छलफल शुरु हुने भएको हो । अपरान्ह ३ बजेटबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची तय भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सदनमा पेस गरेको थियो । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापछि सोमबार सदन सञ्चालन गर्न प्रतिपक्षी दल तयार भएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले प्रतिपक्षीसँग सहमति गरेपछि बैठक सञ्चालन हुने भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्धव थापा र नेमकिपाकी नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपछि अवरुद्ध संसद् खोल्न आफूहरू सहमत भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएको बताए ।