मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

एमालेका जिल्ला उपसचिवसहित पाँच जनाद्वारा पार्टी परित्याग



झापा । नेकपा (एमाले) झापाकी जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठसहित पाँच जनाले पार्टी परित्याग गरेका छन् । देश र जनताको काम गर्नुभन्दा पनि सत्ता र गुट व्यक्तिगत स्वार्थ चुलिएको भन्दै उपसचिव चन्द्रमाया श्रेष्ठसहित पाँच जनाले पार्टीबाट एकैचोटी राजीनामा दिएका हुन् ।

गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी श्रेष्ठ, एमाले कोशी प्रदेश कमिटी सदस्य पदम थापा, झापा क्षेत्र नम्बर ३ का सदस्य सज्जाद आलम, एमाले बाह्रदशी गाउँपालिका सदस्य हवालोदिन मियाँ र बाह्रदशी सचिवालय सदस्य रहिम मियाँले पार्टीबाट राजीनामा दिएका छन् ।

भद्रपुर–८ निवासी श्रेष्ठ एमालेमा आफूले विगत ३० वर्षदेखि निरन्तर क्रियाशील रहँदै आएको यात्रा टुंग्याएको बताएकी छिन् ।

‘श्रेष्ठ भन्छिन्, ‘पार्टीका नेताहरूमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार संस्कृति देखियो ।’ उनी थप्छिन्, ‘नेतृत्वमा देवत्वकरण हुन थाल्यो, आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरूलाई काखी च्याप्ने र ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्ने तथ्यबाट सत्य खोज्ने र हरेक घटना र परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले विश्लेषण गर्ने कार्यकर्ताहरू भेदभाव र पक्षपातको सिकार बन्न थालेकोले पार्टीमा बसिराख्नु उचित देखिन्।’

उनी अगाडि भन्छिन्, ‘समाजमा अन्याय र विभेदविरुद्ध लड्ने एमाले पार्टीमा हामी जस्ता कार्यकर्ताहरू नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदा समेत अन्तर पार्टी संघर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाई राख्न र यसमा देखिएका विकृति, विसंगति अन्त्य गर्न निरन्तर रूपमा हामी लागि परेको बताउँदै उनले भनिन्, ‘हुँदा हुँदा आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरू समेत समाप्त पार्ने प्रयास भइसकेको छ।’

अब पार्टीबाट अलग भई स्वतन्त्र बस्ने उनको भनाइ छ। पार्टी नेतृत्वको दम्भ, घमन्ड र अहंकारको कारण म मात्र नभई अब विस्तारै झापाबाट अधिकांश कार्यकर्ताहरूले एमाले छोड्ने श्रेष्ठले दावी गरिन् ।

त्यस्तै प्रदेश कमिटी सदस्य तथा बाह्रदशी गाउँपालिकी थापाले पार्टीलाई केही सिन्डिकेट र ठेकेदारले कब्जामा लिएर चलाएकाले त्यस्तो पार्टीमा बस्नु उचित नदेखिएको बताए।

रातलाई रात भन्न नसकेर दिन भन्ने जस्तो परिपाटी एमालेमा मौलाउँदै गएको उनको आरोप छ ।

उता एमाले झापा जिल्ला कमिटीको सिफारिसमा पार्टीका उपसचिव श्रेष्ठ र प्रदेश कमिटी सदस्य थापालाई पार्टीको हित विपरीत काम गरेको आरोपमा केही दिनअघि मात्र साधारण सदस्य समेत नरहने गरी पार्टीले निष्कासन गरेको एमाले श्रोतको दावी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : १२ बजे