मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको हो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन्। शनिबार बुद्धिजीवी परिषद्‌को कार्यक्रममा बोल्दै पूर्व(प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको बताएका हुन्।

‘एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ ? भन्ने थाहा पाउनुपर्यो। एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार गर्न खोजिन्छ। किनभने रूपान्तरणविरोधी शक्तिहरू सत्ता कब्जा गर्न सफल छन्,’ उनले भने।

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरू जनता अल्झाउन सफल भएको बताएका हुन्।

‘जनताको चेतनालाई रोक्न सफल छन्। तसर्थ बौद्धिक जगतले जनतालाई भ्रममा पार्ने र दिग्भ्रमित गर्ने र सही बाटोबाट अगाडि बढ्न नदिने शक्तिको जञ्जालबाट मुक्त गर्नुपर्छ। अहिले बौद्धिक जगतले जनतालाई भ्रमबाट मुक्त गर्न बिगुल फुक्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले देशमा भ्रष्ट तत्वहरुको चर्को आवाज भएको बताएका छन्। उनले राष्ट्रघाती तत्वबाट जनतामा राष्ट्रिय भाव र चेतना फैलाउनुपर्ने बताए।

‘हाम्रो भन्दा बढी चर्को आवाज भ्रष्ट तत्वहरुको छ। जनविरोधी, राष्ट्रघाती तत्वहरुको हाम्रो भन्दा चर्को आवाज छ। देशको अहितमा जानुभयो भने मामुलीकरा जस्तो भएको छ। यस्ता कुराबाट जनतालाई मुक्त गरेर राष्ट्रिय भाव, स्वाधिनताको चेतना फैलाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ४० बजे