मंसिर ९, २०८१ आइतबार Sun Nov 24 2024

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले ४ लाख खर्च गर्न पाउने



काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारले बढीमा ४ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ दोस्रो संशोधनमार्फत निर्वाचनको खर्च सीमा निर्धारण गरेको हो ।

निर्देशिकाको दफा १३७ मा निर्वाचन प्रचार प्रसार गर्नका लागि उम्मेदवारले तोकिएको हद भन्दा बढी नहुनेगरी खर्च गर्नुपर्ने उल्लेख छ । निर्देशिका अनुसार सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम विद्युतीय माध्यममा २०र२० हजार खर्च गर्न पाइने छ । यस्तै ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने सीमा तोकिएको छ ।

आयोगले भोली (बुधबार)देखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागु गर्दै छ । आज साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि १७ फागुन देखि चैत ५ सम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

राष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस सहित आठ दलिय गठबन्धनबाट कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलको उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ०४ बजे