काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा यी दुई नेताको भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । राष्टपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन लागेकाले आगामी कार्यकालका लागि राष्टपतिको निर्वाचन गर्न लागिएको हो । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।