भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

नातिपुस्तासँग अत्तालिएका देउवाले आखिरी जितेरै छाडे



डडेल्धुरा। प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरामा यसपाली नातीपुस्तासँग भिडन्त पर्दा अत्तालिएर सकसपूर्ण तरिकाले सामना गरेका थिए । सातौँ पटक संसदमा निर्वाचित हुनका लागि यस्तो सकसपुर्ण अवस्थाको सामना गर्नुपरेको हो । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिएका छन् । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।

प्रधानमन्त्री देउवाको संसद यात्रा
पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बनेका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी भएका छन् । यस पटक सातौँ पटक उनी विजयी भएका हुन् ।

देशको पाँच पटक प्राधनमन्त्रीसमेत भएर इतिहांस बनाउनु भएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल भएका छन् ।

देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित भएका थिए । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी भएका थिए । २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी हुनुभयो भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गरे ।

२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाएका थिए ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबाट देउवा उम्मेदवार बनेका हुन् । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०८ बजे