चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

चितवन २ मा रवि बने एमाले र काँग्रेसलाई चुनौती



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुल १६५ निर्वाचन क्षेत्रमध्ये १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । रवि लामिछाने नेतृत्वको उक्त पार्टीले चितवन–२ मा पार्टी सभापति लामिछानेलाई चुनावी मैदानमा उतारेको छ ।

यस्तै, काठमाडौं १ मा पुकार बम, ललितपूर– १ मा सचिन कुमार घिमिरे, भक्तपूर–२ मा साजन विक र धादिङ १ मा हिमेश पन्तसहित १३१ निर्वाचन क्षेत्रमा यस पार्टीका उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र घोषणा गर्दै पुनः प्रत्यक्ष निर्वाचित प्रणालीको पक्षमा आवाज उठाएको छ । नेपालमा प्रधानमन्त्री संसदीय व्यवस्थाबाट चुनिन्छ । त्यसमा स्थिर सरकार परिकल्पना गर्न गाह्रो हुने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने पार्टीको माग छ ।

यस्तै, हालको प्रदेश संरचनामा रहेका प्रदेश सांसद, मन्त्री, जिल्ला समन्वय समिति सबै खारेज गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा छ । संघीय व्यवस्थालाई पुनः परिभाषित र पुनर्व्याख्या गरिनुपर्ने स्वतन्त्र पार्टीको अडान छ ।

यसैगरी, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र प्रदेशसभाको सट्टा प्रदेश परिषद्को व्यवस्था गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको माग छ । उक्त प्रदेश परिषद्मा सदस्यहरूलाई वर्षको दुईपटक भेला हुने व्यवस्था गर्न सकिने बताइएको छ । यसले खर्च कम हुने र प्रदेशको मर्मलाई पनि मर्न नदिने स्वतन्त्र पार्टीको तर्क छ ।

चितवन २ नम्बर क्षेत्र अन्तर्गत भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिकाका ७ वटा वडा र कालिका नगरपालिकाका ११ वटा वडा पर्दछन् । यस निर्वाचन क्षेत्र मुख्यतः एमालेको प्रभाव क्षेत्र हो । यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै छ ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने नेकपा एमालेको ३५ हजार ३ सय ४३ मत छ । नेपाली कांग्रेसको २४ हजार ५ सय ३१, नेकपा माओवादी केन्द्रको ७ हजार ३ सय ८७ र नेकपा एकीकृत समाजवादीको ३ हजार ५ सय ६९ छ ।

त्यस्तै २०७४ को निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले २९ हजार ४ सय ७६, नेपाली कांग्रेसले २४ हजार २ सय १७ र नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ८५ मत ल्याएका थिए ।

त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुनुपर्ने हो । तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदिएको छ ।

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलिया देखिएका छन् । यसले एमाले र कांग्रेसको राजनीतिक साख घटेको छ ।

यस निर्वाचनमा चितवन–२ बाट कृष्णभक्त पोखरेल, उमेश श्रेष्ठ र रबि लामिछानेसहित १५ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा जसपा नेपालबाट मुस्तफा अली, राप्रपाबाट रविन अधिकारी, नेमकिपाबाट ज्ञानेन्द्र पर्जा, हाम्रो नेपाली पार्टीबाट तामाङ्ग, राप्रपा नेपालबाट सुनिल कुमार क्षेत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट टेक बहादुर तामाङ्ग, जनसमाजवादी पार्टी नेपालबाट प्रभा त्रिपाठी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा कुल ६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा देविका कुवर, भास्कर चन्द्र न्यौपाने, खेमराज भट्टराई, अंगुर पन्त, शुदर्शन प्रधान र सुन्दर डल्लाकोटी रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट पहिलो पटक चुनावमा होमिएको हो । यसअघि टेलिभिजनमार्फत कार्यक्रम प्रस्तोताका रुपमा चर्चा कमाएका लामिछाने आफ्नै पार्टी निर्माण गरि निर्वाचन लड्न तम्सिएका हुन् ।

लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवनमा थुनामा परेका थिए । त्यसवेला जनताको ठूलो समर्थन पनि पाएका थिए । त्यही समर्थनबाट लामिछोनले चितवनबाट राजनितिको कार्ड प्रयोग गर्न चाहेको देखिन्छ ।

चितवनमा उनले आफ्नो चुनावी कार्यक्रमलाई अहिले तिव्र पारेका छन् । चितवन(२ का मतदाताको घरदैलोमा लामिछानेलाई मतदाताले साथ दिइरहेको देखिन्छ । अब यो साथ मतदान गर्दा कति उनको पक्षमा आउछ त्यो त अहिले अनुमान गर्न मुश्किल छ तर लामिछाने अहिले चितवन(२ मा एमाले र काँग्रेसलाई कडा चुनौती बन्ने भने निश्चित छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : १२ बजे