सर्लाही,२२ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा समा–चकेवा उत्सव सम्पन्न भएको छ । चन्द्रनगर गाउँपालिकाको आयोजनामा सम्पन्न उत्सवमा प्रदर्शनी भएका क्लबमध्ये उत्कृष्ट हुनेहरुलाई पुरिस्कृत समेत गरिएको छ । पुरिस्कृत हुने क्लबहरुमा नव निर्माण युवा क्लब खडकाटोल, श्री युनाइटेड युथ क्लब खडकाटोल, श्री जनज्योती युवा क्लब चन्द्रनगर रहेका छन् ।
प्रथम हुने नव निर्माण युवा क्लब खडकाटोललाई नगद रु १५ हजार तथा प्रमाणपत्र, दोस्रो हुने श्री युनाइटेड युथ क्लब खडकाटोललाई नगद रु. १० हजार तथा प्रमाण पत्र र तेस्रो हुने श्री जनज्योती युवा क्लब चन्द्रनगरलाई नगद रु ७ हजार तथा प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको उदघोषक अमृत चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले तराई मधेशमा सांस्कृती पर्व जोगाउन कुनै पनि निकायबाट कार्यक्रम नभएको हुदाँ पुरानो पुस्ताहरुबाट नयाँ पुस्तामा पनि हस्तान्तरण होस् भन्ने उदेश्यका साथ समा–चकेवा उत्सवको आयोजना गरिएको बताए ।
वडा नंं। ७ का स्थानिय ललिता चौधरीले गाउँपालिकाले पहिलो पटक समा–चकेवा उत्सव गरेर उदाहरणीय कार्य गरेको बताइन् । गाउँपालिकाले नै थारु जातीहरुको भेष भुषा झल्किने पोषाक दिएर समा–चकेवा उत्सव आयोजना गरेको हुदाँ आफुहरु एकदमै उत्साही बनेको अर्का स्थानिय महिला चनकिया चौधरीले जानकारी दिइन्। समा–चकेवा पर्व द्वितीया तिथि अर्थ छठ पश्चात पारण देखि पूणिर्मा तिथिसम्म मनाएर अन्त्य गर्ने प्रचलन छ ।
चन्द्रनगरमा पनि समा–चकेवा उत्सव पश्चात् नाढिमन तालमा विधिवत रुपमा माटोको विभिन्न मुर्तिहरु बिसर्जन गरी सम्पन्न गरिएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् ।
दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ ।सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । यो पर्वमा महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।
यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् ।
यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् । श्यामा ९सामा० र चकेवा पति–पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य ९चकेवा० ।
चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे १ कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन ।
अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा ९सामा०को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग बस्न थाले ।
त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।