चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुनेभएका छन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ ।

नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानूनमा आयोगको जिम्मेवारी बमोजिमका कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ मा ‘जनशक्ति’ भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी सम्झनुपर्छ र सो शब्दले त्यस्तो निकायमा काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत जनाउने उल्लेख गरिएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालनमा रहेको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका रा.प. द्धितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणीे वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह) – एकजना, लेखा अधिकृत वा लेखापाल (रा. प. तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एक जना, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना रहनेछन् ।

यस्तै कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एक जना,. सवारी चालक (सवारी साधन भएमा) एक जना, सहयोगी कर्मचारी (श्रेणी विहीन) दुई जना, निजी सुरक्षा अधिकारी (पि.एस.ओ.) एक जना गरी नौ जना रहनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी दरबन्दी रहनेछन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक एक जनासहित नौ जना, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक एक जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ ।

मतदान केन्द्र सम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि मतदान केन्द्रको आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ ।

मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि मतदाता संख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्नेछ ।

सोका लागि पन्ध्र हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक जना, पन्ध्र हजार एकदेखि तीस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि दुई जना, तीस हजार एक देखि पैतालिस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि तीन जना, पैतालिस हजार एकदेखि साठी हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि चार जना, साठी हजार एक देखि ७५ हजार सम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि पाँच जना, पचहत्तर हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रको लागि छ जना कर्मचारी काजमा ल्याउन सकिनेछ ।

मतदान केन्द्रको लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनको लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सकिनेछ ।

सोका लागि एक सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको एक जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी एक जना गरी जम्मा दुईजना, एक सय एकदेखि दुई सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी दुई जना र श्रेणी विहिन वा सो सरहको कर्मचारी एकजना गरी तीन जना, दुई सय भन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी तीन जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी एक जना गरी चार जना रहन सक्नेछन् ।

आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाको लागि कर्मचारी काजमा लिन सक्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ०१ बजे