गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१४ रातामाटाकी ४८ वर्षकी पूर्ण अशक्त पुनिकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरेको हो ।
आचार्यलाई गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले घरमै पुगेर नागरिकता उपलब्ध गराएका थिए । आचार्यले त्यसअघि नागरिता नभएकै कारण सरकारबाट पाउने सेवा सुबिधाबाट वञ्चित थिइन् ।
उनको नागरिता बनेपछि ‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनेको छ । आचार्यलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरेका हुन् ।
अपाङ्गता परिचयपत्र प्रदान गर्दै पन्थीले कुनै पनि नागरिक राज्यको सेवा सुविधाबाट वञ्चित हुननपरोस भनेर पूर्ण अशक्त आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको बताए । नागरिकले स्थानीय सरकारको अनुभूति घरमै गरुन् भन्ने उदेश्यले अपाङ्गता, अशक्त, बेसाहारा र विपन्नलाई घरघरमै पुगेर सेवा प्रदान गर्न थालिएको उनले बताए ।
आचार्य एक्कासी बिरामी परेपछि थलिँदै गएर पूर्ण रुपमा अशक्त बनेको परिवारले जनाएको छ । पूर्ण सशक्त रहेकी उनलाई ७० वर्षीय आमाले हेरविचार गर्दै आएकी छिन् ।