काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ ।
टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उहाँहरुले नगरपालिकामा गुनासो गरे । गुनासोलगत्तै मालिका टोलमा सडक मर्मत भएपछि सहज भएको रवि देवकोटा बताए । “पानी परेपछि बाटोबाट आवतजावतमा समस्या भयो, नगरपालिका गएर गुनासो ग¥यौँ, लगत्तै नगरपालिकाको टिपर, स्काभेटर आएर बाटोमा ग्राभेल हालेर बनाएर गए । अहिले सहज भएको छ”, उनले भने “गुनासो गर्नेबित्तिकै सुनुवाइ भयो, यसरी नागरिकका समस्या समाधान गर्न आवश्यक छ ।”
वर्षात्का समयमा वनगाउँको उत्तरपुरुवा र वनगाउँमा ढल निर्माण र पुल निर्माण भइरहेको ठाउँमा बाटो बिग्रिएको थियो । सडक हिलाम्मे र मर्मत नहुँदा त्यहाँबाट आवतजावतमा समस्या भएपछि नगरपालिका गुहार्दा सडक बनेको र हिँड्न सहज भएको स्थानीय चम्मन चौधरीले बताए । “ढल निर्माणका क्रममा जताततै खनिएका छन्, कल्र्भट बनाउँदा त्यहाँ वरपरको सडक बिग्रिएको थियो”, उनले भने “हामी अर्को बाटो भएर हिँड्नुपर्ने वाध्यता थियो ।
पालिकामा गुनासा टिपायौँ, तुरुन्तै सुनुवाइ भयो । पहिलो चरणमा माटो र ग्राभेल हालियो, वर्षा भएपछि माटो बगाएर लिँदा समस्या समाधान भएन । फेरि पालिकामा गुनासो ग¥यौँ, अहिले ठूला ढुङ्गा हालेर त्यसमाथि ग्राभेल गरिदिएको छ ।”
टीकापुर नगरक्षेत्रका अधिकांश सडक जीर्ण छन् । नगरपालिकाभित्र रहेका वर्षौँअघि बनेका कतिपय कालोपत्र सडकसमेत भत्किएका छन् भने ग्राभेल सडक खाल्डाखुल्डी परेर नागरिकलाई आवतजावतमा समस्या भइरहेका छन् ।
वर्षात्का समयमा यसरी बिग्रिएका सडकमा आवतजावतमा नागरिकलाई बढी समस्या हुन्छ । नागरिकका गुनासाअनुसार पालिका यतिखेर खाल्डाखुल्डी मर्मतमा जुटेको छ । “वर्षात्मा यहाँका धेरै सडक बिग्रने, भत्कने समस्या हुन्छ”, स्थानीय हरि चौधरीले भने , “पालिकाको टोली तयारी अवस्थामा राखिएको जनप्रतिनिधि बताउँछन् । पालिकामा रहेका तीनैजना इञ्जीनियर, प्राविधिकका मोबाइल नं सार्वजनिक गरिएका छन् । समस्या भए फोन गछौँ ।”
पालिकाले सडक अवरुद्ध भए, कतै डुबान भए प्राविधिकलाई सम्पर्क गर्न सूचना गरेको छ । त्यसका साथै कुन क्षेत्र कसले हेर्न भनी प्राविधिकलाई समेत काम बाँडफाँट गरेको छ ।
नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ । पालिकाले नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारू बताए । “नागरिकलाई समस्या भए गुनासा गर्न भनेका छौँ, गुनासो आएमा प्राविधिकको टोलीले हेरेर तत्काल समस्या समाधान गरिरहेका छौँ”,उनले भने , “पालिकाकै जनशक्ति र सवारीसाधन प्रयोग गरेर साना–तिना समस्या समाधान गर्ने प्रयास हो । जसले नागरिकलाई सहज हुन्छ ।”
पालिकाले यसरी सडक मर्मत गर्दा पनि पहुँच भएकाका गुनासामात्रै सुन्न नहुने स्थानीय दुर्गा सुनार बताउँछन् । “नागरिकका समस्यालाई ध्यानमा दिएर पालिकाभित्रका सबै नागरिक बस्ने ठाउँका बाटा, पुल पुलेसा बनाउने, नागरिकलाई सहज आवतजावत गर्ने वातावरण बनाउने दायित्व पालिकाको हो । त्यहीअनुसार जिम्मेवारीका साथ कार्यान्वयन गर्न आवश्यक छ”, उनले भने “नागरिकले पनि लाखौँ खर्चिएर घर बनाउने तर घर अगाडिका साना साना खाल्डाखुल्डी आफैँ नपुर्ने, सडकको सुरक्षा नगर्ने कार्य गलत हो । घर बनाउने, घर अगाडिको बाटो, ढल पालिकाले बनाइदिनुपर्छ भन्ने कार्य पनि गलत हो ।”