असार ९, २०८१ शनिबार Sat Jun 22 2024

महिलाले पनि नगर हाँक्न सक्छे र भन्थे, उनले मेयर बनेर देखाइदिइन्

पुरुषले टिकट पाउँदा योग्य भएरै हुने, महिलाले पाउँदाचाँही चरित्रमाथि प्रश्न ?



चिलीकी राजनीतिज्ञ भेरोनिका मिशेल बाचलेट जेरियाले कुनैबेला भनेकी थिइन्, ‘मेरा लागि राम्रो लोकतन्त्र त्यो हो जहाँ महिलाहरुलाई भोट हाल्ने र चुन्ने अधिकारमात्रै हुँदैन, आफै निर्वाचित हुने अधिकार पनि हुन्छ ।’

भलै अहिले नेपालको राष्ट्रपति महिला छिन् तर अझै यहाँको राजनीतिक नेतृत्वमा महिलाहरुको पहुँच भने न्यून नै छ । मेयर त पुरुषहरु हुने हो, महिला त ‘उप’ भए पुग्छ, यो पुरुषप्रधान मानसिकता हाम्रो राजनीतिबाट अझै हट्न सकेको छैन, बरु गहिरोसँग गढिरहेकै छ ।

यो सुशिला शाहीको ताजा अनुभव हो । जो गत स्थानिय निर्वाचनमा गठबन्धनको तर्फबाट कैलालीस्थित लम्की चुहा नगरपालिकाको नेपाली कांग्रेसकी मेयर उम्मेद्वार थिइन् । महिला भएकै कारण उनीमाथि अपमान र विभेदको श्रृंखला टिकट नपाउँदै सुरु भयो ।

त्यतिबेला पार्टीले उनको नगरबाट मेयरका लागि १० जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये ९ जना पुरुष थिए, उनीमात्रै महिला । तर राम्रो सामाजिक छवीका कारण लम्कीचुहाका मतदातासँग नजिकबाट भिजेकी थिइन् उनी । टिकट पाउने बलियो नामका रुपमा उनलाई हेरिएको थियो।

त्यहीकारण होला, मेयरका लागि सिफारिस केही पुरुष नेताहरुले उनलाई होच्याउँदै भनेका थिए, ‘तिमी महिला हो, उपमेयरमा उठ, मेयरचाँही म हुन्छु । मलाई सहयोग गर ।’
टिकट फाइनल हुने अन्तिम दिनसम्म पनि उनले लगातार यो दबाब खेपिरहिन् । तर, जति दबाब आएपनि पछाडी हट्न तयार भइनन् । ‘बरु प्रदेशसभाको निर्वाचनमा उठ्छु तर उपमेयरमा चाँही जाँदिनँ । यहाँ दिने भए मेयर नै चाहिन्छ,’ उनले ढिपी कसिरहिन् ।

त्यतिबेला १० मध्ये पनि भक्तबहादुर थापा, अरुण चौधरी र उनको नाम बढी चर्चामा थियो । बहुमतको समर्थन भने सुशिलालाई थियो । तर, प्रदेश कमिटीले जर्बजस्त थापाको नाममा निर्णय गरिदियो ।

सुशिला पनि लर्तरो महिला थिइनन्, कुनै हालतमा पछि हटिनन् । कारण, कांग्रेस केन्द्र पनि उनकै पक्षमा थियो । उम्मेद्वारी मनोनयनका दिन थापा र शाही दुवैले नाम दर्ता गरे । निर्वाचन आयोगले दुवै उम्मेद्वारी दर्ता त ग¥यो तर केन्द्रबाट जसले आधिकारिक पत्र ल्याउन सक्छ, उसैलाई आधिकारिक मान्ने सर्तसहित । पछि केन्द्रबाट आधिकारिक पत्र आयो– सुशिलाकै नाममा ।

‘यहाँ सर्वप्रथम महिलालाई टिकट नै ल्याउन गाह्रो हुने रहेछ,’ सुशिला सम्झिन्छिन, ‘एकचोटी अवसर दिनुस् म गरेर देखाउँछु भन्दा पनि ममाथि ठूलो दबाद आइरह्यो । प्रतिपक्षले मञ्चमञ्चमा पुगेर महिलाले नेतृत्व गर्न सक्दैन, कामै गर्न सक्दैन भनेर भाषण ठोकिरहे । यतिसम्म कि महिलाले टिकट कसरी ल्याइ भन्दै मेरो चरित्रमाथि नै प्रश्न उठाइयो । फेसबुकमा तथानाम गाली गरियो । तैपनि रत्तिभर विचलित भइनँ, डगमगाइन । नेताहरुको महिलालाई हेर्ने दृष्टिकोण अलि फरक त थियो तर जनताले नै त्यसको जवाफ दिए, मलाई मत दिएर । ’

पुरुषले टिकट पाउँदा योग्य भएरै हुने, महिलाले पाउँदाचाँही चरित्रमाथि प्रश्न ? यो हाम्रो सामाजिक विडम्बनाको सामना गर्नुपर्दा सुशिलालाई तनाब नभएको होइन । तर, उनको परिवार, शुभेच्छुक र वरिपरिका समर्थकहरुको ढाडसले उनलाई सम्हालिरह्यो । आफूलाई कमजोर हुन दिइनन् ।

अन्ततः प्रतिपक्षी एमालेका उम्मेद्वार महादेव बजगाईलाई २ हजार २७८ मत अन्तरले पराजित गर्दै उनी मेयरमा विजयी भइन् । स्थानियस्तरमा राम्रो पकड बनाएका निवर्तमान मेयर बजगाईलाई हराएर उनी लम्कु चुहाको मात्रै होइन, कैलालीकै पहिलो महिला प्रमुख भइन् ।

यसअघि कैलालीको स्थानिय तहमा कुनै महिलाले जितेका थिएनन् । अझ लम्कीचुहा त एमाले गढ । कहिले कांग्रेसले स्थानिय तह जितेको थिएन । प्रतिनिधि सभाको चुनावमा समेत उनको क्षेत्रबाट कांग्रेसले एकपटकमात्रै चुनाव जितेको छ । त्यो पनि ०५६ सालमा, सुशिला स्वाँरले ।

शाहीले यो ऐतिहासिक सफलता त्यसै पाएकी होइनन् । धेरैलाई थाहा नहुनसक्छ, यसको पछाडी लम्कीचुहामा स्थापित उनको सामाजिक छवि पनि प्रमुख कारण हो ।

सामाजिक सक्रियता
सानोछँदा सुशीलालाई सेना–प्रहरीको बर्दीले खुब लोभ्याउँथ्यो । ‘म पनि यस्तै बर्दी लाएर देशको सेवा गर्छु,’ उनी साथीभाइसँग भनिरहन्थिन् । तर, भर्ति हुनुपर्ने उमेरमा देशमा संकटकाल लाग्यो, त्यसपछि उनको यो रुची हरायो ।
योसँगै उनका सहायक सपनाहरु थिए– समाजसेवा र राजनीति । राजनीति त उनको पारिवारिक पृष्ठभूमि नै थियो ।

बुबा स्थानिय कालिकोट स्कुलमा प्रिन्सिपल थिए । काठमाडौंको बुढानिलकण्ड स्कुल पढेका उनले कांग्रेसका तर्फका कालिकोटमा चुनावसमेत लडे । मामा लोकराज शाही त पञ्चायतकालमा कन्चनपुरस्थित बेलौरीबाट चुनावै लडेर पञ्च प्रधान निर्वाचित भएका थिए ।

घरमा सबै कांग्रेसी । सधैँ मान्छेहरुको चहलपहल । बाक्लो राजनीतिक भेटघाट । त्यसैले होला, सुशीलालाई पनि राजनीतिप्रति चासो बढ्दै थियो । सानैदेखि ‘एक्टिभ’ थिइन् उनी । नजिकै मोतिपुर माध्यमिक विद्यालयमा पढेकी उनी स्कुलमा हुने अधिकांश अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउँथिन् । स्कुलमा गठन हुने रेयुकायु, रेडक्रसजस्ता संस्थाका कमिटीमा उनी नै संयोजक तोकिन्थिन् । ‘स्कुलमा खेलकुद भइरहँदा सरहरुले मलाई नै संयोजक बनाउनुहुन्थ्यो,’ उनी सम्झिन्छिन् , ‘स्कुलमा जहिले पनि केही त्यस्तो समिती गठन गर्नुपर्यो भने मलाई नै अगाडी सारिन्थ्यो । कबड्डी, फुटबल, भलिबल सबैमा फस्ट हुन्थें म। तर, पढाइमाचाँही मध्यम थिएँ । न फेल हुन्थें, न फस्ट नै । ’ शिशु कक्षादेखि १० कक्षासम्म उनले त्यही पढिन् ।

त्यसपछि ०६१ सालमा आइए पढ्न उनी काठमाडौं आइन् । चावहिलस्थित पशुपति क्याम्पसमा भर्ना भइन् । त्यहाँ कांग्रेसको भातृ संगठन नेविसंघको सदस्यता समेत लिइन् । पढ्दापढ्दै ०६३ सालमा बिहे गरिन् । बिहेपछि फेरि गाउँमै सेवा गर्छु भन्ने लक्ष्य बोकेर लम्की फर्किइन् ।स्नात्तक र स्नात्तकोत्तर दुवै उनले प्राइभेट शिक्षामार्फत पास गरिन् । त्यो पनि राजनीतिशास्त्रमै ।

लम्की फर्किएर उनी सामाजिक संघसंस्थामा सक्रिय हुन थालिन् । सन् २००८ मा लम्की जेसिजमा प्रवेश गरिन् । तीज लगायतका महिलाहरुको कार्यक्रममा संयोजक भएर काम गर्न थालिन् । कार्यक्रमका लागि सहयोग उठाउन आफै हिड्थिन् । सुशिला गयो भने मान्छेहरुले पत्याउँछन्, धेरैले यसै भन्थे । अनि जिम्मेवारी पनि उनीलाई नै दिन्थे ।

जेसिजमा काम गरेको पाँच वर्षपछि सन् २०१३ तिर लम्कीमा लेडी जेसिजको स्थापना भयो । जसको उनी निर्विरोध संस्थापक अध्यक्ष बनिन् । उनकै कार्यकालमा लेडी जेसिजको जग्गा समेत किनियो । अहिले त आफ्नै भवन बनिसकेको छ ।

यतिमात्रै होइन्, सन् २०१७ मा उनले नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा समेत सबैभन्दा बढी मत ल्याएर जितिन् । लायन्स क्लब, रेडक्रम सोसाइटी सबैतिर उस्तै सक्रिय । केही सहकारीको नेतृत्वमा पनि पुगिन् । उद्योग वाणिज्य संघको पनि संस्थापक सदस्यहुँदै, सहसचिव, सचिव, उपाध्यक्षसम्म भइन् । आफै हाँस्दै भन्छिन्, ‘लम्कीको कुनै संघसंस्था बाँकी छैन मैले नेतृत्व नलिएको । ’
त्यस्तै स्थानिय महिलाहरुसँगको सहकार्यमा लम्कीका करिब ५० विपन्न, अनाथ तथा दलित बालबालिका अहिले पनि पढाइरहेकी छिन् उनी । धेरैजसो रकम आफ्नै खल्तीबाट हालेकी छिन् ।

लम्कीमा कोही मृगौलाका बिरामी भयो, या कसैलाई केही गम्भिर रोग लाग्यो भने उपचारका लागि सहयोग गरिदन भन्दै धेरै मान्छेहरु उनीकहाँ पुग्ने गर्थे । कसैको दुःख देख्न सक्थिनन् सुशिला । सहयोग संकलनमा जुटिहाल्थिन् । यस्तै काम गर्दागर्दै उनको मनमा बालबालिका पढाउने सोच आएको हो । ‘मन्दिर जानुभन्दा यस्तो काम गरौँ न । यो पो धर्म हो भन्ने लाग्न थाल्यो,’ उनले भनिन् ।

कोरोना महामारीका बेला पनि खुब सेवामा खटिइन् उनी । बिरामीलाई खाजा बाँड्नेदेखि मास्क, सेनिटाइजर वितरणमा समेत सक्रिय भइन् । जसकारण पनि लम्की चुहाका वासिन्दाहरु उनीसँग प्रभावित भए ।

सुशिला स्वयम्लाई आफू मेयर बन्नमा उनको सामाजिक व्यक्तित्वले काम गर्यो भन्ने लाग्छ । ‘यो १५ वर्षको बीचमा मैले लम्कीमा बसेर गरेको सामाजिक कामले ठूलो भूमिका खेल्यो,’ उनले भनिन् ।

शेरबहादुर देउवासँगको भेट
सुशिलाले सामाजिक संघसंस्थामा जस्तो पार्टीमा भने पदिय जिम्मेवारीमा रहेर काम गरिनन् । तर पदमा नभइकन पदमा हुनेहरुभन्दा बढी सक्रिय भएर जिम्मेवारी निभाइन् ।

०६२–०६३ को जनआन्दोलनका बेला सडकमा बुलन्द आवाजसहित अग्रपंक्तिमा उत्रिइन् । पार्टीको जागरण अभियानमा पनि महत्वपुर्ण जिम्मेवारीसहित गाउँगाउँ पुगिन् ।

१३ औ महाधिवेशनमा प्रतिनिधिको तयारी गर्दैगर्दा त्यतिबेला उनलाई ‘उमेर अझै छ’ भनेर रोकियो । सामान्य कमिटिमै चित्त बुझाइन् उनले ।अघिल्लो महाधिवेशनमा भने प्रतिनिधिका लागि लडेकी थिइन् । तर, २२ मतले हारिन् ।

०७४ को निर्वाचनमा प्रदेशको समानुपातिक उम्मेद्वार थिइन् उनी । त्यतिबेला एमाले–माओवादीको गठबन्धन नभएको भए समानुपातिक सांसद हुन्थे भन्ने लाग्छ उनलाई ।

समानुपातिक टिकटको आयुँ पाँच वर्षको हुन्छ । त्यसैले योपटक मेयर लड्ने भएपछि उनले समानुपातिकबाट आफ्नो नाम हटाइदिन पार्टीको केन्द्रिय कमिटीबाट निवेदन गरिन्् ।

‘मलाई प्रदेशको टिकट पाएपछि त्यहीँको माननिय बनेर मन्त्री बन्ने चाहना थियो,’ उनी भन्छिन्,‘ तर, कार्यकारी पद खाँदा केही हुन्न ‘तिमी सक्छौ, क्षमता छ’ भन्ने सुझाव आएपछि मेयर लडेको हुँ । ’

टिकट पाउनुअघि उनले बालुवाटार गएर शेरबहादुर देउवालाई पनि भेटेकी थिइन् । निर्वाचन जितेपछि पनि देउवा धनगढी आउँदा उनले भेट्ने मौका पाइन् ।

त्यतिबेला देउवालाई भेटेर उनी स्वयम्ले मुस्कुराउँदै भनिन्, ‘दाइ , मैले निर्वाचन जितेँ नि ।’

जवाफमा देउवाले बधाईमात्रै दिएनन्, ‘तिम्रो एरियामा कांग्रेसले पहिलोपल्ट स्थानिय तह जितेको हो’ भन्दै खुशी पनि प्रकट गरे । देउवा यतिसम्म अपडेट होलान् भन्ने उनलाई लागेको थिएन । तर, रहेछन् ।

उनले त्यतिबेला देउवासँग लम्की चुहामा रहेका सडक, अस्पताल, क्याम्पस, नगर उद्यान लगायतका समस्याबारे अवगत गराएकी थिइन् । जवाफमा देउवाको आश्वासन थियो, ‘तिमी अगाडी बढ, म सहयोग गर्छु ।’

लम्की चुहा बदल्ने योजना
अहिले पहिलो महिला मेयर भएपछि सुशिलालाई काम गर्न पक्कै सहज छैन । उनका अनुसार एमाले नेतृत्वमा रहेका बेला राखिएका कर्मचारीबाटै उनलाई असहयोगको माहोल छ ।
‘तर म अप्ठेरो भयो भन्दैमा चुप लागेर बस्दिनँ, ’ उनले भनिन्, ‘एक दुइमहिना हेर्छु । सहज अवस्था सिर्जना गरिएन भने त्यही अनुसार निर्णय गरेर हिड्नुपर्छ । यो लम्की चुहा पूर्वाधार नै नभएको ठाउँ हो । न यहाँ मालपोतको घर छ । केही वडाको आफ्नै घर बल्लबल्ल बनाएको छौ । बसपार्कको निर्माण आधा बाँकी छ । सभाहल र कोल्ड स्टोर पनि छैन । तर, सबैतिर बजेट छुट्याएको छु । अरुले ५ वर्षमा नगरेका काम म १ वर्षमा गरेर देखाउँछु । यसमा म ढुक्क छुँ ।’

लम्की चुहामा लागुऔषध दुव्र्यसनी, चोरी र दुर्घटना पनि बढी हुने गर्छन् । प्रहरीसँगको सहकार्यमा यसको न्यूनिकरणका कार्यक्रम पनि ल्याउने तयारीमा छिन्, शाही । रंगशाला निर्माणको अवधारणामा पनि ल्याएकी छिन् । त्यसका लागि बजेट समेत निकासा भइसकेको छ ।

हुन त नगरसभामा प्रतिपक्षको बहुमत छ तर आत्तिएकी छैनन् । काम गर्ने कुरामा बहुमतले रोक्ला भन्ने उनलाई लाग्दैन । ‘स–सानो कुरामा पनि हामी महिलाहरु सय पल्ट सोच्छौ । १० हजार घर खर्च भनेर दिइयो भनेर त्यसलाई पनि धेरै ठाउँमा म्यानेज गर्छौ । नगरमा पनि बजेटलाई त्यसरी नै म्यानेज गर्ने सोचेको छु,’ उनले भनिन् ।

शाहीकी ११ वर्षकी छोरी छिन् । बिहानदेखि साँझसम्म अफिस । सधैँ धपेडी । सामाजिक काममा उस्तै सक्रिय । परिवार र छोरीलाई पर्याप्त समय दिन सकेकी छैनन् उनले । तर, श्रीमान्,सासु ससुरा, माइती पक्षबाट पुर्ण सहयोग छ उनलाई । ‘३६ वर्षको उमेरमा टिकट पाएर मेयर जितेँ, काम गरेर देखाउँछु नै । कुरा काट्नेहरुको मुख पनि काम गरेरै बन्द गराउँछु,’ उनी ‘कन्फिडेन्ट’ सुनिन्छिन् ।

अब उनलाई फेरि मेयरमा दोहोराएर उठ्नु छैन । बरु प्रदेशहुँदै संघको चुनावसम्म लड्नु छ। ‘आफूले राम्रो काम गर्दै जाँदा भोलि पार्टीले नै मलाई सम्मान र अवसर दिन्छ भन्नेमा म ढुक्क छु,’ उनि भन्छिन्,‘मेरो राजनीतिक यात्रा यत्तिमै त रोकिँदैन । प्रदेशहुँदै संघसम्म पुग्ने हो । राम्रो काम गरेँ भने प्रदेश लड्दिनुस भनेर पार्टी आफैले आग्रह गरिहाल्छ नि ! म यसमा विश्वस्त छु । ’

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ३२ बजे