काठमाडौं।समाजवादी मोर्चाको बैठक बुधबार साँझ ६ बजे पुनः बस्ने भएको छ ।
बिहान ८ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘मोर्चाको ४७ जिल्लामा जिल्ला कमिटी बनेका छन् । ७ प्रदेशमा सन्देश सभा भए, सातै प्रदेशमा कमिटी पनि बने। बैठकमा यसबीचमा भएका गतिविधिको रिपोर्टिङ भयो,’ उनले भने, ‘आगामी गतिविधिबारे समय लिएर छलफल गर्नुपर्ने भयो। बैठक साँझ ६ बजे पुनः बस्नेछ ।’
गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ । त्यस्तै सबै जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।