आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन



काठमाडौँ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्व विद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेको मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन् ।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धानसँगै मस्यौदाको चरणमा रहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहेका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसँगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्व विद्यालय स्थापनाले गति लिने बताए ।

विश्व विद्यालयले खासगरी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने गरी प्रारम्भिक रूपरेखा बनाएको उनले बताए । यस विश्व विद्यालयमा नेपालका सबै धर्म शास्त्रहरूको अध्ययन अनुसन्धान गराइने समितिका सदस्य चेतनाथ गौतमले बताए ।

यस विश्व विद्यालयमा कम कक्षा र बढी अनुसन्धान गराइने प्रारूप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रीले बताए । नेपालमुखि अनुसन्धान, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रूपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीले बताए ।

विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्व विद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पुरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका अर्का सदस्य कमल ढकालले बताए । यस अवधारणाले नेपाल, पशुपति र हिन्दुहरूको गौरवको विषय भएकोले कुनै प्रकारको ढिलासुस्ती नगर्न क्षेत्र विकास कोषलाई मन्त्री किरातीले निर्देशन दिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १ : ४८ बजे