आश्विन ४, २०८१ शुक्रबार Fri Sep 20 2024

एनसेलको शेयर खरिद–बिक्रीमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष नेपाल



पोखरा । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एनसेलको शेयर खरिद–बिक्रीमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ६ वर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्नेमा अहिले बिक्री गरेर चलखेल गर्न खोजिएको बताएका छन् । ‘यो किनबेच नेपाललाई ६ वर्षपछि हस्तान्तरण गर्न पन्छाउने काम हो । पहिल्यै थाहा पाएर आँखा चिम्लन हुँदैन । दण्डित गरेर, कारोबारमा भएको बदमासी छानबिन गरेर कारबाही गर्नुपर्छ’, उनले भने ।

अर्थतन्त्रमा केही समस्या भएको तर थोरै समस्या भएको भनेर चित्त बुझाउने ठाउँ नरहेको उनले बताएका छन् । उनले पछिल्लो समय ऋण नतिर्ने भन्दै आन्दोलन भइरहेकोप्रति आपति जनाएका छन् ।

समस्यामा रहेका व्यवसायी र लगानीकर्तालाई सरकारले पहल गरेर सहुलियत दिइनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र कामचलाउ छ भनेर चित्त बुझाउने ठाउँ देखिँदैन । अर्थ व्यवस्था सञ्चालनमा त्रुटि छ भनेर हेर्नुपर्छ । व्यवसायीको हालत खराब भएको छ, ऋण तिर्न नसकेर धेरै मान्छे संकटमा परेका छन् । व्याजदर घटाउने मात्र होइन, ऋण लिएकाको चुक्ता गरेर, ब्याज घटाएर हुन्छ कि लगानीकर्ता वा ऋणीलाई सरकारले सहुलियत दिइनुपर्छ ।’

एनसेलको शेयर बिक्रीमा कर छलीको व्यापक आशंकाबीच संसद, सरकार र न्यायालय तीनै अंग सक्रिय भएका छन् । त्यसमा पनि प्रतिनिधिसभाका तीनवटा विषयगत समितिहरूले छुट्टाछुट्टै अध्ययन थालेका छन् । सरकारले पनि यो प्रकरणको छानबिनका लागि पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : ५० बजे