मंसिर ८, २०८१ शनिबार Sat Nov 23 2024

जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वास समेत दिलाएको भेटमा सहभागी लेखक एवम् पत्रकार मनऋषि धितालले जानकारी दिए । सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो ।

गाउँ–गाउँमा सङ्गठन विस्तार तथा सरकारको काम कारबाहीलाई समेत जनस्तरमा पुर्‍याएको जनाउँदै अभियान सार्थक बनेको समेत पार्टी अध्यक्षलाई जानकारी गराइएको उनको भनाइ छ । यस्तै, आसन्न राष्ट्रियसभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य छिरिङल्हामु लामालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : २७ बजे