चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट



काठमडौं । स्पाइनी मुभिज प्रालिको आयोजनामा यहाँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ ।

महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे । उनले पछिल्लो समय चलचित्रकर्मीद्वारा बजेट विनियोजनबारे राख्नुभएको गुनासोको सुनवाई गर्ने बताए ।

“म तपाईहरुकै सेवक हुँ । त्यसैले आफ्नो समस्या निर्धक्कसँग मलाई भन्नुस्, खबरदारी गर्नुस्”, उनले भने, “हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी एकभएर काम गरौँ ।”

महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान) र लेखनमा विकाश सुवेदी (प्रकाश)ले अवार्ड जिते ।
यस्तै, छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुखी बुहारी) र छायाँकारमा ज्ञानेन्द्र खतिवडा (अहम प्रेम)ले अवार्ड जिते । नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य (इन्द्रायणी)ले अवार्ड जिते ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाँकार ‘द लाइट बल्व’ (भेनेजुएला) र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ (इजिप्ट) का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो । महोत्सवका निर्देशक माधव खरेलले विदेशी सहभागी चलचित्रमध्येका विजेतालाई अनलाइनकै माध्यमले जानकारी गराएको बताए ।

“तेस्रो संस्करणसम्म आइपुग्दा बृहत्रुपमा कार्यक्रम सम्पन्न भयो । स्वदेशी चलचित्र विदेशीभन्दा कुनै हिसाबले कम छैनन् । चलचित्रप्रतिको चेतनाले हामीलाई अब्बल सावित गरेको छ”, उनले भने।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ११ : ०७ बजे