मंसिर ८, २०८१ शनिबार Sun Nov 24 2024

बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने



काठमाडौं । केन्द्रमा समीकरण फेरिएपछि एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चारजना मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । तर नेपाली कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलले सल्लाह नै नगरी विश्वासको मत लिन लागेको भन्दै असन्तुष्टि जनाएको छ । सोही कारण प्रदेश सभा बैठक केही ढिलो हुने सम्भावना छ । एमाले सरकारबाट नबाहिरिएसम्म कांग्रेसले कुनै निर्णय नगर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बताएका छन् । तर मुख्यमन्त्री जम्कट्टेल भने आजै विश्वासको मत लिने र कांग्रेसका एक मन्त्री भए पनि सरकारमा सहभागी गराउने तयारीमा लागेका छन् ।

कांग्रेसले माघ ३ गते पनि विश्वासको मत दिएको थियो । यसपटक पनि दिने तयारीमा छ । तर सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने कांग्रेसको दाबी छ । नेताहरुका अनुसार आज मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रलगायतका दलहरुले विश्वासको मत दिनेछन् ।

सरकारको विपक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी रहने छन् ।तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रोपटक संसदबाट विश्वासको मत लिन लागेका हुन् । गत पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका तीनवटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। जम्कट्टेलले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसदको समर्थन पाउने देखिन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १२ : २९ बजे