काठमाडौँ । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको आजको बैठकमा पनि जारी रहने भएको छ ।
विहिबारको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको शुक्रबार अपराह्न २:५९ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै नागरिकताको विषयलाई अगाडि बढाउनुपर्ने सांसदहरूले बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बारेमा आफ्नो धारणा राख्दै उनीहरूले नागरिकता नपाएका नागरिकले नागरिकता पाउनुपर्ने धारणा राखे । छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने उल्लेख गरे ।
सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनः विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको बताइन् । विधेयकमा रहेका केही विषयमा प्रश्न उठेको उनको भनाइ थियो । सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पुर्याउनका लागि मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको जस्तो आफूले पाएको उनको भनाइ थियो ।
सांसद इन्दु कडरियाले नागरिताको जस्तो संवेदनशील विषयलाई हल्का ढङ्गले लिन नहुने धारणा राखिन । नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् ।
सांसद विमला घिमिरेले राष्ट्रियहित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिइन् । सांसद मोहम्मद खालिदले राष्ट्रियताको सन्दर्भमा प्रस्तुत नागरिकता विधेयकले कुनै पनि हानिनोक्सानी नगर्ने र विरोध गर्नुको औचित्य नभएको बताए ।
सांसद गोपाल भट्टराई र तुलसाकुमारी दाहालले विधेयक ल्याउने सवालमा समेत प्रक्रिया नपुर्याइएको बताए । सांसद इन्दिरादेवी गौतमले नागरिकताविहीनलाई नागरिकता दिने विषयमा समस्या नभएपनि यसलाई हलुका बनाउन नहुने बताइन् ।